दफा ४८९
घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्ने

(१) घरसारमा भएको लिखत हराएमा वा काबू बाहिरको परिस्थिति परी नासिएमा साहूले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखी कार्यालयको छाप लगाई त्यसको भरपाई निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको नजिकको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे साबिक बमोजिमको लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम लिखत गरिदिने व्यक्तिले लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको जनाई अर्को लिखत गरी दिन मञ्जुर नगरेमा साहूले त्यस्तो म्याद नाघेको पैँतीस दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्नेछ ।